लामो समयको छलफलपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल सहमति नजिक पुगेका छन्। यससँगै नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा तत्काललाई रोकिएको छ।
ओली र नेपालबीच व्यवसायी रामेश्वर थापाको घरमा वार्ता भएको थियो। वार्तामा नेता नेपालले ६ वैशाखमा अघि सारेको ६ बुँदे प्रस्तावमाथि छलफल भएको थियो। त्यस क्रममा अध्यक्ष ओलीसँग फागुन २८ गतेको निर्णय फिर्ता र पार्टी कमिटी २०७५ जेठ २ को स्थितिमा फर्किने विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्दै जाने सहमति भएको नेता नेपालले बताए।
नेपाल समूहले सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँतिएपछि एमालेको पार्टी कमिटी पनि एकताअघिको अवस्था अर्थात २०७५ जेठ २ मा पुग्नुपर्ने माग गरेको छ। बिहीबार नेता नेपाल निकटका सांसदले विपक्षी गठबन्धनलाई सरकार निर्माणका लागि सजिलो हुने गरी राजीनामा दिने तयारी गरेपछि अध्यक्ष ओलीले नेता नेपाललाई फोन गरेर भेटको प्रस्ताव गरेका थिए।