काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले विदेशबाट हुने स्याउ आयात रोक्दै नेपाली किसानले उत्पादन गरेको स्याउलाई प्राथमिकता दिन सरकारसँग माग गरेका छन्।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शाहीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्। उनले अघिल्लो आर्थिक वर्षमा मात्रै विदेशबाट करिब १० अर्ब ५५ करोड ७५ लाख रुपैयाँभन्दा बढीको स्याउ आयात भएको दाबी गरे। नेपालमा ठूलो परिमाणमा स्याउ आयात भइरहे पनि नेपाली किसानले उत्पादन गरेको स्याउ भने बजारको अभावका कारण बिक्री गर्न समस्या भइरहेको उनले बताए। शाहीले अघिल्लो वर्षको साउन महिनामा मात्रै करिब १ अर्ब ५ करोड ४४ लाख रुपैयाँ बराबरको स्याउ आयात भएको उल्लेख गरे।
उनले नेपाली किसानको उत्पादनले बजार नपाउने तर विदेशबाट ठूलो रकम खर्च गरेर स्याउ आयात गर्ने प्रवृत्तिले स्वदेशी कृषि क्षेत्रलाई थप कमजोर बनाइरहेको बताए। सरकारले नेपाली उत्पादनको संरक्षण गर्दै आयात प्रतिस्थापनतर्फ ठोस कदम चाल्नुपर्ने उनको भनाइ थियो। सांसद शाहीले जुम्लाको कृषि सम्भावनालाई राज्यले पर्याप्त रूपमा उपयोग गर्न नसकेको पनि बताए। उनका अनुसार जुम्लामा करिब ३८ हजार ४८६ हेक्टर खेतीयोग्य जमिन रहे पनि करिब ११ प्रतिशत क्षेत्रमा मात्रै खेती भइरहेको छ।बाँकी खेतीयोग्य जमिनसमेत उपयोगमा ल्याउन सके कृषि उत्पादन बढाउन, किसानको आय वृद्धि गर्न तथा कृषि उपजको आयात घटाउन सकिने उनले बताए। जुम्लासहित देशका विभिन्न क्षेत्रको कृषि सम्भावनालाई सरकारले प्राथमिकताका साथ उपयोग गर्नुपर्नेमा सांसद शाहीले जोड दिए।