काठमाडौं । ३ वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर नेपाली कांग्रेसकी सांसद नीनु कुमारी कर्णले प्रतिनिधिसभामा सरकार र सुरक्षा संयन्त्रमाथि गम्भीर प्रश्न उठाएकी छन्।
सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कर्णले छोरी तथा महिलाको सुरक्षा गर्न राज्य संयन्त्र असफल भइरहेको भन्दै आक्रोश व्यक्त गरिन्। उनले बलात्कार र हिंसाका घटना बढिरहँदा पनि सुरक्षा निकायले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाइन्।‘के छोरी जन्मनु र जन्माउनु अपराध हो ’ भन्दै प्रश्न गरेकी कर्णले छोरीमाथि हुने हिंसा र अमानवीय व्यवहारप्रति राज्य गम्भीर बन्नुपर्ने बताइन्।उनले गरिमा चौधरी मात्र नभई अन्य धेरै बालिका तथा महिलाहरू समेत हिंसाको सिकार भइरहेको उल्लेख गर्दै सुरक्षा निकायको भूमिकामाथि प्रश्न उठाइन्। ‘हाम्रा छोरीबेटीको जिम्मा अब कसलाई लगाउने ’ भन्दै उनले सरकारसँग जवाफ मागिन्।गरिमा प्रकरणमा भइरहेको अनुसन्धान र घटनासँग जोडिएका सामग्री सार्वजनिक गर्ने शैलीप्रति समेत सांसद कर्णले असन्तुष्टि जनाइन्। उनले अनुसन्धानलाई प्रभाव पार्ने गरी हुने मिडिया ट्रायल र प्रचारमुखी गतिविधि रोक्नुपर्ने बताइन्।सांसद कर्णले राज्य र सुरक्षा निकायले अपराध नियन्त्रण तथा दोषीलाई कानुनी दायरामा ल्याउन प्रभावकारी कदम चाल्न नसके त्यसको जिम्मेवारीसमेत सरकारले लिनुपर्ने धारणा राखिन्।उनको भनाइले बालिका तथा महिलाको सुरक्षा, राज्यको जिम्मेवारी र अपराध अनुसन्धानको संवेदनशीलताबारे संसदमा फेरि गम्भीर बहस निम्त्याएको छ।