काठमाडौं । बाराकी ३ वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या प्रकरणमा आरोपित किशोरको बयानको भिडियो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरेको आरोपमा एक प्रहरी कर्मचारी पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार आरोपितको बयान चलिरहेका बेला भिडियो खिचेको र पछि उक्त भिडियो बाहिरिएको घटनामा प्रहरी हवल्दार कुमार विकलाई नियन्त्रणमा लिइएको हो।बाराका प्रहरी प्रमुख एसपी नरेन्द्र कुँवरले विकलाई पक्राउ गरी फौजदारी कसुरअन्तर्गत अनुसन्धान अघि बढाउने तयारी भइरहेको जानकारी दिएका छन्।आरोपित किशोरको बयानसम्बन्धी भिडियो सामाजिक सञ्जालमा फैलिएपछि प्रहरीको कार्यशैलीमाथि प्रश्न उठेको थियो। भिडियोमा घटनाबारे आरोपितले बयान दिएको देखिन्छ।संवेदनशील अनुसन्धान प्रक्रियासँग जोडिएको बयान सार्वजनिक भएपछि प्रहरीमाथि विभिन्न क्षेत्रबाट आलोचना भएको थियो। यही विषयलाई लिएर सोमबार बसेको प्रतिनिधिसभा बैठकमा समेत सांसदहरूले प्रश्न उठाउँदै अनुसन्धानका क्रममा गोपनीयता र कानुनी प्रक्रियाको पालना गर्नुपर्ने बताएका थिए।प्रहरीले भिडियो कसरी सार्वजनिक भयो र यसमा थप को–को संलग्न छन् भन्ने विषयमा समेत अनुसन्धान अघि बढाउने जनाएको छ।