गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः पृथ्वीसुब्बा गुरुङ नियुक्त भएका छन्। गुरुङलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले नियुक्त गरेकी हुन्।
प्रदेश प्रमुख पौडेलले १६८ (३) अनुसार ठूलो दलको हैसियतले नेकपा (एमाले)का संसदीय दलका नेता गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गरियोस् भनेर पेश गरेको दाबीमा बहुमत पुग्न सकेन।
राष्ट्रिय जनमोर्चाका २ सांसदे कुनै पनि गठबन्धनमा नलाग्ने जानकारी दिएपछि नेपालीलाई मुख्यमन्त्री बन्न चाहिने ३१ मत नपुगेको हो।सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहेको उल्लेख गरेका थिए।
सांसद नेपालीले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको आफूलाई समर्थन रहेको दाबी गरेका थिए। तर, उनकाे दाबी संख्या नपुगेपछि गुरूङ मुख्यमन्त्री बनेका हुन्।