नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले आफूलाई मुख्यमन्त्रीमा नियुक्त गरियोस् भनेर पेश गरेको दाबीमा बहुमत पुग्न सकेन। राष्ट्रिय जनमोर्चाका २ सांसदे कुनै पनि गठबन्धनमा नलाग्ने जानकारी दिएपछि नेपालीलाई मुख्यमन्त्री बन्न चाहिने ३१ मत नपुगेको हो।
सांसदहरु कृष्ण थापा र खिमबिक्रम शाहीले आफूहरु कुनै पनि गठबन्धनमा नरहेको र सरकार निर्माणका विषयमा तटस्थ रहेको उल्लेख गरेपछि नयाँ सरकार गठनमा अन्यौलता आएको हो।
सांसद नेपालीले नेपाली कांग्रेसका १५, नेकपा माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टीका २ सांसदको आफूलाई समर्थन रहेको जुन ६० सदस्यीय प्रदेशसभाको बहुमत रहेको दाबी गरेका थिए।
संविधानको धारा १६८(२) अनुसार कुनै सांसदले आफ्नो पक्षमा प्रदेशसभाको बहुमत पु¥याउन नसकेमा धारा १६८ (३) अनुसार प्रदेशसभाको ठूलो दलको संसदीय दलको नेतालाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने व्यवस्था छ।
कांग्रेसले बहुमत रहेकाे प्रमाण पेश गर्न नसकेमा संसदकाे ठूलाे दल एमालेबाट मुख्यमन्त्री नियुक्त हुनेछन्। त्यस्ताे अवस्थामा पुनः गुरूङ नै मुख्यमन्त्री बन्ने सम्भावना छ। यसअघि गुरुङविरुद्ध कांग्रेस र माओवदीले अविश्वासको प्रस्ताव दार्ता गरेका थिए।
जनमोर्चाले पनि साथ दिने भएपछि कांग्रेस र माओवादी अविश्वासको प्रस्ताप पेश गरेका हुन्। वैशाख २७ गते अविश्वासको प्रस्तावमा मतदान हुने भनिए पनि गुरुङले २६ गते नै पदबाट राजीनामा दिएका थिए। संवैधानिक व्यवस्था अनुसार गुरुङ नै मुख्यमन्त्री बनेमा उनले ३० दिन भित्र विश्वासको मत लिनु पर्नेछ।