कांग्रेस सभापती शेरबहादुर देउवालाई भेटेलगत्तै बालुवाटार पुगेका जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका छन्।
आफ्ना मागहरु सम्बोधन नभएको भन्दै उनीहरुले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने स्पष्ट पारेका हुन्। ‘आफ्ना नेता तथा कार्यकर्तामाथी मुद्दा फिर्ता गर्नेबारे के हुँदैछ भनेर सोध्यौ,’ जसपा अध्यक्ष ठाकुरले भने – ‘हामीले विश्वासको मत दिन सक्दैनौं भनेका छौं। हाम्रा माग सम्बोधन भएका छैनन्।’
नेता महतोले महतोले आफुँहरुले विपक्षमा पनि मत नदिएर तटस्थ बस्ने जानकारी गराएको बताए। जवाफमा प्रधानमन्त्री ओलीले कतिपय मुद्दा अदालतको अनुमतिमा मात्रै फिर्ता लिनेजस्ता काम गर्नुपर्ने खालका रहेको बताएका थिए भने कतिपय मुद्दा फिर्ता भइसकेको उल्लेख गरेका थिए।
प्रधानमन्त्री ओलीलाई भेट्नुअघि अध्यक्ष ठाकुर र नेता महतोले करिब डेढ घण्टा नेपाली कांग्रेसका सभापति शेरबहादु देउवासँग उनकै निवास बुढानिलकण्ठमा पुगेर भेटवार्ता गरेका थिए।
उनीहरूले भेटमा जसपाले कसलाई सघाउने भन्ने निर्णय भइनसकेको बताएका थिए। जसपामा प्रधानमन्त्री ओलीको विकल्प खोज्नुपर्नेमा अध्यक्ष बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष छ भने अध्यक्ष ठाकुर पक्षले ओलीलाई नै निरन्तरता दिन सकिने बताइरहेको थियो। तर आज अध्यक्ष ठाकुरले ओलीलाई विश्वासको मत दिन नसकिने प्रष्टाएका छन्।