काठमाडौं । विधायन व्यवस्थापन समितिको बैठकमा संक्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ माथि सैद्धान्तिक छलफल भएको छ।
बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सांसद तथा सरोकारवालाले दिएका सुझावले विधेयकलाई थप स्पष्ट, प्रभावकारी र विशिष्ट बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताइन्। उनले कानुनमा देखिएका समस्या र व्यावहारिक पक्षबारे जति धेरै सुझाव प्राप्त हुन्छ, कानुन त्यति नै परिस्कृत हुँदै जाने उल्लेख गरिन्। कानुन स्पष्ट र विशिष्ट भए त्यसको कार्यान्वयन पनि सहज हुने उनको भनाइ थियो। मन्त्री चौधरीले विधेयक कार्यान्वयनका लागि सरकारले उपलब्ध संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्नेमा जोड दिइन्। मन्त्रालयले संक्रामक पशु रोग नियन्त्रणसम्बन्धी विधेयकसँगै अन्य कानुनका विषयमा पनि सरोकारवालासँग निरन्तर छलफल गर्दै आएको उनले जानकारी दिइन्। उनका अनुसार कानुन कार्यान्वयनका क्रममा विगतमा देखिएका कमजोरीलाई सुधार गर्दै आगामी दिनमा प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न आवश्यक छ। त्यसका लागि सम्बन्धित निकाय र सरोकारवालाबीच समन्वय हुनुपर्ने उनले बताइन्। मन्त्री चौधरीले समितिमा प्राप्त सुझाव तथा सल्लाहलाई विधेयकमा आवश्यकताअनुसार समेट्न मन्त्रालय प्रतिबद्ध रहेको पनि स्पष्ट पारिन्। उनले विधेयकलाई व्यवहारिक र कार्यान्वयनयोग्य बनाउन सबै पक्षबाट प्राप्त सुझावलाई महत्वका साथ लिइने बताइन्।