नेकपा एमालेको माधव–झलनाथ समुहका सांसदहरु राजिनामा दिने अन्तिम निर्णयमा पुगेसँगै एकताको सम्भावना पनि लगभग सकिएको छ। माधव समुह र ओलीसमुहविचको निरनतरको वार्ताले कुनै समाधान निकाल्न नसकेपछी माधव–झलनाथ समूहका सांसदहरुले आइतबार राजीनामा दिने भएका छन्।
माधव–झलनाथ समूहका नेता र सांसदहरुको बैठकले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास गर्दा पनि सहमति हुन नसकेको भन्दै राजीनामा दिने निर्णय गरेको पार्टी स्रोतले बताएको छ।
प्रधानमन्त्री ओलीले २७ गते सोमबार विश्वासको मत लिनका लागि संसद बैठक बोलाएका छन्। कांग्रेस र माओवादीले ओलीलाई विश्वासको मत नदिने निर्णय यसअघि नै गरिसकेका छन् । प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ निर्वाचित नेपाल समूहका २० जना सांसदले राजीनामा गरेपछि ओलीले विश्वासको मतमा बहुमत पाउने संभावना छैन।
माधव समूहका सांसदले राजीनामा गर्नासाथ संसदमा कायम सांसद संख्या घट्न गइ वैकल्पिक सरकार बन्ने सम्भावना पनि जीवित हुनेछ।