पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा 'मास्टरसेफ यूके'मा नेपाली सेफ सन्तोषपाली साहले ‘उत्कृष्ट तीन’मै चित्त बुझाउनु परेको छ।सिराहा कर्जन्हाका ३५ वर्षीय सन्तोष साहले फाइनलपछि भावुक बन्दै उपाधि हात नलागे पनि नेपाली खानालाई विश्वमञ्चमा प्रस्तुत गर्न सकेका कारण नेपाल र नेपाली खानाको जित भएको बताएका छन्।
केही हप्ता यता एकपछि अर्को नेपाली खाना चखाएर निर्णायकहरूलाई आश्चर्यमा पार्दै आएका साहले अन्तिम प्रतिस्पर्धामा भने सोचेजस्तो खाना पस्कन नसकेको बताए। उनले भने, ‘ट्रफी हात लगाउनु मात्र जित होइन, मैले निर्णायकहरू तथा नेपालीको मन जितिसकेको छु।’
उनी बासी भात शैलीमा भुटेको चिउरा, भुटेको खुर्सानी र नुन, गोल्डेन पुरी, गंगटाको तरकारी, साँधेको भटमास, रायोको साग, जिम्बुले मोलेको पोलेको खसीको मासु, पुदिना पराठा, क्रिस्पी प्याज लगायतको परिकार बनाएर टप–३ मा पुगेका हुन्।
‘बीबीसी वान’ मा प्रसारित फाइनल राउन्डको दोस्रो चरणमा उनी भादगाउँले टोपी लगाउँदै नेपाली शान विश्वसामु बढाएका थिए। साहले बाल्यकालमा नाला खन्ने काममा मजदुरी गर्न नदी किनारमा जाँदा यी परिकारका खाजा आमाले बनाएर ल्याइदिने गरेको बताएका छन्।
२५ वर्षीय एलेक्स वेब पाककलासम्बन्धी टेलिभिजन प्रतिस्पर्धा ‘मास्टरसेफ यूके’ काे विजेता बनेका छन्।