नेपाल इन्जिनियरिङ कलेज चाँगुनारायणका तत्कालिन अध्यक्ष लम्बोदर कुमार न्यौपाने ठगी मुद्दामा पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बुधबार दिउँसो उनलाई काठमाडौं चण्डोलस्थित उनकै निवासबाट पक्राउ गरेको हो।
रामेछाप मन्थली नगरपालिका–८ घर भएका न्यौपाने काठमाडौं–४ चण्डोल बसोबास गर्दै आएका थिए। न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको छ। यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ। उक्त मुद्दामा ललितपुर महानगरपालिका-९ का सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं-४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी छन्।
उनीविरुद्ध ३ करोड ७१ लाख रुपैयाँ ठगीको आरोप रहेको छ। न्यौपाने नेपाल इन्जिनियरिङ कलेजमा २०५६ असार १८ देखि २०५७ मंसिर ७ गतेसम्म पहिलो कार्यकाल र २०७० मंसिर २३ देखि २०७५ असोज १५ गतेसम्म दोस्रो कार्यकाल अध्यक्ष रहेका थिए।
उनी अध्यक्ष भएका बेला कलेजको बेरुजु २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ देखिएको छ। उनको नाममा मात्र ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ बिगो कायम भएको छ।
२ वर्षअघि न्यौपानेसँग ७८ लाख रुपैयाँ घुस लिएको प्रमाण सार्वजनिक भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले पद छोड्नुपरेको थियो ।