नेत्रविक्रम चन्द समूहका सेक्सन कमाण्डर पक्राउ परेका छन्। मोरङ प्रहरीले विप्लवका सेक्सन कमाण्डर पेम्बा साङ्गे शेर्पालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका–२ का ३२ वर्षीय शेर्पालाई शनिबार पक्राउ गरेको हो।
शेर्पालाई उर्लाबारी–६ रमाइलो टोलका एकान्त कोइराला भन्ने एकबहादुर विश्वकर्माको घरमा बसेको अवस्थामा पक्राउ गरेको हो।
प्रहरी नायब उपरीक्षक मानबहादुर राईले चन्द समूहका नेताहरूको गतिविधि भइरहेको जानकारीका आधारमा शेर्पालाई पक्राउ गरिएको बताए।
शेर्पाको साथबाट अमेरिकामा बनेको पेस्तोल, म्याग्जिन, तीन थान गोली, तीन थान मोबाइल, आठ थान झोला र १८ थान ज्याकेट पनि बरामद गरिएको राईले बताएका छन्।
शेर्पालाई हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दामा आवश्यक अनुसन्धान भइरहेको राईले जानकारी दिए।
प्रहरी स्रोतका अनुसार संखुवासभा र ताप्लेजुङका दुर्गम क्षेत्रलाई आधार बनाएर विप्लव नेतृत्वको नेकपाले गतिविधि तीव्र बनाएको छ। प्रहरीले दुई जिल्लालाई विशेष निगरानी गरी कारबाही अघि बढाएको छ।
यसैबीच, विप्लव नेतृत्वको नेकपाका एक नेताले प्रहरीले आफ्ना नेतालाई पक्राउ गरेकोप्रति भर्त्सना गरेका छन्।
साथै केही दिन अघि संखुवासभामा प्रहरीले नै एकतर्फी गोली चलाएर आफूहरूलाई तर्साउन खोजेको टिप्पणी गरेका छन्।
‘पूर्वमा व्यापक जनसहभागितामा आधार इलाका र मोर्चा निर्माण हुँदैछ, हामी जस्तोसुकै कारबाहीको प्रत्याक्रमण गर्ने तयारी गर्दै छौं,’ उनले भने।