काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले सिर्जित राष्ट्रिय सङ्कट, राहत तथा उद्धारका विषयमा नेपाल सरकारका मुख्यसचिवसहित विषयगत मन्त्रालयका सचिवहरूसँग उच्चस्तरीय छलफल गरेका छन् । बाढीबाट प्रभावित नुवाकोटको विदुर क्षेत्रको स्थलगत निरीक्षण गरी फर्किएलगत्तै प्रधानमन्त्री शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उक्त आपत्कालीन बैठक बोलाए ।
बैठकमा विपद् व्यवस्थापन, खोज, उद्धार तथा राहतसँग प्रत्यक्ष जोडिएका रक्षा, गृह, अर्थ, परराष्ट्र, ऊर्जा, जलस्रोत तथा सिँचाइ, स्वास्थ्य तथा जनसंख्या र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवहरूको सहभागिता रहेको थियो। बैठकमा प्रधानमन्त्री शाहले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई अझ द्रुत बनाउन, घाइतेहरूको शीघ्र एवं प्रभावकारी रूपमा निःशुल्क उपचारको व्यवस्था मिलाउन र विस्थापित परिवारहरूलाई तत्काल आवश्यक राहत सामग्री पु¥याउन कडा निर्देशन दिए ।
विशेष गरी बाढीका कारण विस्थापित भएका नागरिकहरूका लागि स्थापना गरिएका राहत क्याम्पहरू पूर्ण रूपमा व्यवस्थित, सफा र सुरक्षित हुनुपर्नेमा प्रधानमन्त्रीले जोड दिए । उनले राहत क्याम्पहरूमा व्यक्तिगत गोपनीयताको पूर्ण सुनिश्चितता गर्नका साथै महिला, बालबालिका, सुत्केरी र वृद्धवृद्धाहरूलाई उचित सम्मान, सुरक्षा र विशेष प्राथमिकताका साथ राख्न सम्बन्धित सबै निकायलाई स्पष्ट निर्देशन दिएका छन् ।