काठमाडौँ । देशभर अहिले पनि मनसुनी वायुको प्रभाव कायम रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार देशका अधिकांश भूभागमा बदली रही विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही उत्तर र पूर्वतर्फ सरदर स्थान आसपास रहेको छ। यसको प्रभावका कारण हिमाली तथा पहाडी क्षेत्रमा सामान्यदेखि पूर्ण बदली र तराई क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको छ। महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली तथा पहाडी भूभागका धेरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनसक्ने सम्भावना छ। तराईका केही भूभागमा पनि चट्याङसहित वर्षा हुने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। त्यस्तै, आज राति पनि देशका अधिकांश भूभागमा बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। महाशाखाले कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुनसक्ने जनाएको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा सडक यातायातमा असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।