काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट भएको ठूलो क्षति तथा प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका छन्।
रास्वपाका प्रवक्ता जगदीश खरेलका अनुसार बैठक आज (बिहीबार) बिहान ९ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्ने गरी बोलाइएको छ। बैठकमा बाढीका कारण भएको जनधनको क्षति, बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिने, पीडितहरूलाई तत्काल राहत सामग्री वितरण गर्ने र दीर्घकालीन पुनःस्थापनाको योजना बनाउने विषयमा राजनीतिक दलहरूबिच छलफल हुनेछ।
सभापति लामिछानेले विपद्को यस कठिन समयमा दलीय हितभन्दा माथि उठेर सबै राजनीतिक दलहरूलाई एकताबद्ध भई सरकार र स्थानीय प्रशासनसँग समन्वय गरेर राहत तथा उद्धारमा खटिन अपिल गरेका छन्। बैठकमा बाढी प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार र पुनस्र्थापनाका लागि राजनीतिक दलहरूका तर्फबाट साझा रणनीति तथा पहल निर्माण गर्नेबारे विचार–विमर्श हुने जनाइएको छ।