काठमाडौं – नेकपाका अध्यक्षद्वयविच संवादहिनताको अवस्था बनेपछि ओलीनिकट नेताहरुको दौडधुप शुरु भएको छ । कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न दशैंपछि मात्र ओलीनिकट ४ शिर्ष नेताहरु खुमलटार पुगिसकेका छन् ।
बुधबार संसदीय दलका उपनेता सुवास नेम्वाङ र अर्थमन्त्री एवं पार्टी महासचिव विष्णु पौडेल र बिहीबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल पुगेका थिए भने शुक्रबार बिहान परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली शुक्रबार खुमलटार पुगे ।
उनीहरु सबैजनाले प्रचण्डलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीसँग संवाद गर्न आग्रह गरेको भएपनि प्रचण्डले आफूँ कन्ट्याक्ट ट्रेसिङमा परेकाले बालुवाटार जान नसक्ने बताउँदै आएका छन् ।
शुक्रबार खुमलटार पुगेका नेकपा स्थायी कमिटी सदस्य समेत रहेका मन्त्री ज्ञवालीले प्रचण्डसँगको भेटवार्ता नियमित भएको बताए । ‘एक जना स्थायी कमिटी सदस्यले आफ्नो पार्टी अध्यक्षलाई भेट्नु सामान्य कुरा हो, त्यस्तो कुनै उल्लेख्य कुरा भएन’, ज्ञवालीले भने ।
विशेष गरी मन्त्रिपरिषद् पुनर्गठन, राजदूतहरुको सिफारिस र कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीमा अविश्वास प्रस्ताव आएपछि प्रचण्ड ओलीसँग संवादमा बस्न मानिरहेका छैनन् ।
ओली र प्रचण्ड बीचको मतभेदकै कारण कात्तिक १५ मा निर्धारित केन्द्रीय कमिटी बैठक एक महिना पछाडि सारिएको छ । गएको भदौ २६ को स्थायी कमिटी बैठकले चैतमा निर्धारित एकताको महाधिवेशनको तयारी थाल्न कात्तिक १५ मा केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको थियो ।