काठमाडौँ । चीनको तिब्बततर्फबाट भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र नवलपरासीलगायतका जिल्लाका तटीय क्षेत्रमा भएको जनधनको ठूलो क्षतिप्रति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गहिरो दुःख व्यक्त गरेको छ। रास्वपा सचिवालयको बुधबार बसेको बैठकले विपद् प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यका लागि पार्टीका तर्फबाट ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
पार्टीले बाढी, पहिरो तथा डुबानमा परी ज्यान गुमाएका नागरिकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। यसका साथै प्रभावित क्षेत्रमा फसेका स्वदेशी तथा विदेशी नागरिकको तत्काल उद्धार गरी सुरक्षित बासस्थान, शुद्ध खानेपानी, औषधि र खाद्यान्नको व्यवस्था मिलाउन सरकारसँग माग गरिएको छ। पार्टीले आफ्ना मातहतका सबै कमिटी, सदस्य तथा शुभेच्छुकहरूलाई स्थानीय प्रशासनसँग समन्वय गरी उद्धारमा खटिन निर्देशन दिएको छ भने उद्धार टोली (¥याट) परिचालनको संयोजन पूर्व संयोजक आशिष थापालाई सुम्पिएको छ।
विपद् व्यवस्थापन, खोज, उद्धार तथा राहत कार्यमा सम्पूर्ण ध्यान केन्द्रित गर्नका लागि रास्वपाले आफ्ना पूर्वनिर्धारित सम्पूर्ण साङ्गठनिक एवं राजनीतिक गतिविधिहरू अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ। पार्टीका महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी वक्तव्यमा बेपत्ता नागरिकको खोजी, महामारी नियन्त्रणका लागि विशेषज्ञ स्वास्थ्य टोली परिचालन र घरबारविहीन भएकाहरूलाई दीर्घकालीन पुनस्र्थापनाका लागि ठोस कार्ययोजना ल्याउन सरकारको ध्यानाकर्षण गराइएको छ। साथै सामाजिक सञ्जालमा अफवाह नफैलाई आधिकारिक सूचना मात्र पत्याउन सर्वसाधारणमा अपिल गरिएको छ।