खाँदबारीका वृद्धवृद्धाको यस सालको दसैं खल्लो हुने भएको छ । कोरोना भाइरस संक्रमण तथा बढ्दो महंँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आस बोकेका वृद्धवृद्धा निराश भएका छन् ।
कोरोना महामारीका कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिने भएको छ । सरकारले भत्ता नदिएपछि खाँदबारीका धेरैजसो ज्येष्ठ नागरिकले दसैं कसरी मनाउने भन्ने चिन्ता लागेको बताएका छन् ।
आफूहरु ऋण खोजेर दसैं मान्न बाध्य भएको खाँदबारी–४ का ८६ वर्षीय भैरव राईले गुनासो गरे । कोरोना महामारी र संकट परेका बेला भत्ता नपाउँदा झन् मन खिन्न भएको राईको भनाइ छ ।
नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला, विधवा र दलितसहित २ हजार ६४३ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । त्यस्तै पाँचखपन नगरपालिकामा १ हजार ४ सयभन्दा बढीले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् ।
सरकारले ज्येष्ठ नागरिकलाई ३ हजार, ज्येष्ठ नागरिक एकल महिलालाई २ हजार, विधवालाई २ हजार, दलित ज्येष्ठ नागरिकलाई २ हजार, अपांगता भएका (क) लाई ३ हजार, अपांगता भएका (ख) लाई १ हजार ६ सय र बाल संरक्षणका लागि ४ सयका दरले भत्ता उपलब्ध गराउँदै आएको छ ।
नगरपालिकाले ढिला गरी रकम निकासा गरेका कारण बैंकले समय भुक्तानी गर्न नसकेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयका प्रबन्धक अनिश रायमाझीले बताए ।