कैलाली– धनगढी उपमहानगरपालिका—१२ स्थित जुगेडास्थित अस्थायी प्रहरी पोस्ट मा कार्यरत दुई जना प्रहरीको हत्या घटना सीमा क्षेत्रमा तस्करी गर्ने समूहले गरेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता प्रतिक बिष्टले मालसामान तस्करी गर्ने समूहको प्रहरी हत्या घटनामा संलग्नता देखिएको बताए ।
‘'नेपालबाट मटर भारततर्फ तस्करी भइरहँदा प्रहरीबाट रोकेर नियन्त्रणमा लिने प्रयास गर्दा तस्करहरुले उक्त हत्या घटना घटाएको अनुसन्धानबाट देखिएको छ,’ प्रवक्ता बिष्टले भने, ‘पक्राउ परेकाहरुले बयानका क्रममा हत्यामा संलग्न भएको स्विकारेका छन् ।’ उक्त पोष्टमा कार्यरत प्रहरी सहायक निरीक्षक गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउँदको शनिबार राति सीमा क्षेत्रको चकमेली गाउँ नजिकै हत्या गरिएको थियो ।
प्रसनि विक र प्रहरी जवान साउद नियमित गस्तीका क्रममा शनिवार राति जुगेडाको दक्षिणतर्फको नेपाल—भारत सीमावर्ती क्षेत्रमा थिए । प्रहरीको हत्या गरिसकेपछि शवलाई घटनास्थलबाट झन्डै चार सय मिटरको दुरीमा रहेको मोहना नदीसम्म पुर्याई सो समूह फरार भएको जनाइएको छ । पत्रकार सम्मेलनमा घटनामा संलग्न भएको अरोपमा पक्राउ परेका स्थानीय सात जनालाई आज सार्वजनिक गरिएको छ । विकको शव घटना भएको दोस्रो दिन मोहना नदीमा फेला परेकोमा प्रहरी जावानको शव सोही नदीमा आज फेला परेको छ । नदी क्षेत्रबाट प्रसनि विकले प्रयोग गर्ने गरेको पेस्तोल र मोबाइल सेट समेत प्रहरीले फेला पारेको छ ।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका—१०का पर्कु भन्ने रोहित राना, राजेन्द्र राना, चोर भन्ने सुरेश राना, गब्बर भन्ने राजकुमार राना, रामनिवास राना, टल्लु भन्ने दलराम राना र गोपाल भन्ने रामगोपाल राना रहेका छन् । पक्राउ परेकामाथि ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाइएको छ ।