दमौली– सबै मजदुरको पिसिआर परीक्षण गरिएपछि तनहुँ जलविद्युत आयोजनाअन्तर्गतको विद्युतगृह निर्माणको काम पुनः सुरु भएको छ । तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाका मजदुरले पिसिआर परीक्षण गर्नुपर्ने माग राख्दै आन्दोलन गरेपछि केही दिन विद्युत् गृहको काम अवरुद्ध भएको थियो ।
मजदुरको मागबमोजिम निर्माण कम्पनीले २ सय १७ जनाको पिसिआर परीक्षण गरेपछि काम नियमित भएको सिनो हाइड्रो मजदुर युनियनका संयोजक आशिष श्रेष्ठले जानकारी दिए । ‘एक जना चालकमा कोरोना सङ्क्रमण देखिएपछि सबै मजदुरको पिसिआर गर्नुपर्ने मागसहित काम बन्द गरेका थियौं, सबैको पिसिआर परीक्षणपश्चात् रिपोर्ट नेगेटिभ आएपछि काम सुरु गरेका छौं,” उनले भने । सिनो हाइड्रो कम्पनीले परीक्षणको व्यवस्था गरेको थियो ।
१ सय ४० मेगावाट क्षमताको आयोजना अन्तर्गत सिनो हाइड्रोले दोस्रो प्याकेज अन्तर्गतको विद्युतगृह निर्माणको काम गरिरहेको छ । विद्यृतगृह निर्माणका लागि १ सय ८८ मिटर केवल टनेलको काम केही समय अगाडि मात्रै सम्पन्न भएको थियो । सिनोले आयोजनाको प्याकेज दुई अन्तर्गतको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रो तथा इलेक्ट्रो मेकानिकल उपकरण आपूर्ति जडानको ठेक्का पाएको छ ।