काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरस सङ्क्रमित सबै नागरिकको उपचार गर्न सक्ने गरी स्वास्थ्य पूर्वाधारहरू तयारी अवस्थामा रहेको बताएका छन् । मन्त्री ढकालले आज भिडियो सन्देश दिँदै सरकार सबै नागरिकको जीवनरक्षाका लागि प्रतिबद्ध रहेको र कोभिड १९ को परीक्षण र उपचारमा गुणस्तरीय सेवाको पहुँचवृद्धि गरिएको समेत जानकारी दिए ।
‘मन्त्रालयले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड–१९को परीक्षण तथा उपचार गर्ने गरी व्यवस्था गरेको छ,’ उनले भने, ‘अक्सिजन र आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजना हित प्रभावकारी व्यवस्था मिलाएको छ ।’
मन्त्री ढकालका अनुसार देशभरि भेन्टिलेटरसहितको २६ सय सघन उपचार कक्ष (आइसियू) तयारी अवस्थामा र थप ४ सयको निर्माण भइरहेको तथा अक्सिजन र मनिटरसहितको ३ हजार ५ सय हाइ डिपेन्डेन्सी युनिट थप्ने कार्यलाई तीव्र रूपमा अगाडि बढाइएको छ । यसले कोभिड–१९ का सिकिस्त बिरामीको उपचारलाई सहज बनाउने उनको भनाइ छ ।
मन्त्री ढकालले कोभिड १९ को महामारीविरूद्धको लडाइँमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने कार्यमा जनताबाट प्राप्त साथ सहयोग आभार व्यक्त गर्दै रोगको रोकथाम तथा नियन्त्रणको प्रभावकारी उपाय मास्कको उचित प्रयोग, भौतिक दुरी कायम गर्ने र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजर प्रयोग गर्नु रहेको स्मरण गराए ।