बागलुङ– जैमिनी नगरपालिका–७ जैदी, धुल्लुका ७१ वर्षीय मोहराज उपाध्यायले मौरीपालन गर्न थालेको २५ वर्ष भयो । आफूलाई ‘मौरी गोठालो’ भन्न रुचाउने उनको दैनिकी मौरीको स्याहार र रखवालीमा बित्छ । उनको मौरीपालन उद्योग जिल्लाकै ‘व्यावसायिक नमूना फार्म’ ले चिनिन्छ ।
उद्योगमा सेरेना जातका २०० घार मौरी छन् । १०० घारबाट मह र १०० घारबाट मौरीका गोला बेच्ने गरेको उपाध्यायले बताए । ‘मह र गोलाबाट वर्षमा १० लाख बढी कमाइ हुन्छ,’ उनले भने । अनुकूल मौसम पर्दा मह उत्पादन अझ बढ्छ । यो वर्ष भने अधिक वर्षाका कारण मौरीपालक किसान मर्कामा परेको उनको भनाइ छ । वर्षाले फूल झारेपछि मौरीको आहार गुम्छ । मौरी पनि चरनमा कमै निस्कन्छन् ।
उपाध्यायको उद्योगमा वार्षिक १ हजार २०० किलोसम्म मह उत्पादन हुन्छ । एक किलो मह रु एक हजार २०० मा बिक्री हुन्छ । यस्तै एक गोला मौरीको भाउ ५ हजार ५०० छ । ‘बजारको कुनै समस्या छैन, बरु मह पुर्याउनै सकिएको छैन,’ उपाध्यायले भने । उनका अनुसार वर्षको दुई याममा मह उत्पादन हुन्छ । एउटै याममा चार\पाँच पटकसम्म मह निक्लने गर्छ । मौसमले साथ दिएका बेला एउटै घारबाट आठ किलोसम्म मह आउँछ । उनले घरसँगै सदरमुकाम बागलुङ बजारबाट मह र मौरी बिक्री गर्दै आएका छन् । बाहिरी जिल्लाबाटसमेत उत्पादनको माग आउँछ । उपाध्यायले मौरीपालन रोज्ने किसानलाई तालिम पनि दिन्छन् ।
२०४५ ताका काठमाडौँ चोभारको ‘हिमालयन बी कन्सर्न’मार्फत मौरीपालनको तालिम लिएका उपाध्यायले भने, ‘मैले तालिम लिएर फर्केपछि अरुलाई सिकाउन थालेँ । अरुलाई तालिम दिँदै हिँड्ने तर आफूले चाहिँ नपाल्ने गर्दा अमिल्दो भयो भन्ने लागेर विसं २०५१ तिर व्यावसायिक मौरीपालन सुरु गरेँ ।’
मौरीपालनमा लागेपछि उपाध्यायलाई कहिल्यै पछाडि फर्कनु परेन । उनी ३४औँ विश्व खाद्य दिवसमा देशभरमै उत्कृष्ट सेरेना मौरीपालक किसानका रूपमा सम्मानितसमेत भएका छन् । गण्डकी प्रदेश सरकारले दुई वर्षअघि उहाँको उद्योगलाई नमूना मौरीपालन फार्म घोषित गरी ५ लाख अनुदान दिएको थियो ।