दमौली– तनहुँको व्यास नगरपालिका–३ का राजकुमार श्रेष्ठले सत्यवती माध्यमिक विद्यालयमा ५ लाखको अक्षयकोष स्थापना गरेका छन् । विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उनले सो रकमको अक्षयकोष स्थापना गरेका हुन् ।
आफ्नो ८४ औं जन्मदिनको अवसरमा गत वर्ष २ लाखको अक्षयकोष स्थापना गरेका श्रेष्ठले उक्त कोषमा ३ लाख थप गरेका छन् । उक्त रकम श्रेष्ठसहित छोरा शान्तकुमार श्रेष्ठ र बुहारी इन्द्रकला श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सूर्य अधिकारी र प्रधानाध्यापक इन्द्रप्रसाद पौडेललाई हस्तान्तरण गरे ।
सो रकम दमौलीस्थित शुभश्री बचत तथा ऋण सहकारीमा राजकुमार श्रेष्ठ छात्रवृत्ति कोषमा जम्मा गरिएको र कोषबाट प्राप्त हुने ब्याजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिनेको प्रधानाध्यापक पौडेलले जानकारी दिए ।