काठमाडौं– सैनिक मुख्यालय जङ्गी अड्डाले उपप्रधानमन्त्री तथा निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेललाई सोमबार बिदाइ गरेको छ । जङ्गीअड्डास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित उक्त कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले आफ्नो कार्यकालमा नेपाली सेनाले विपद्का समयमा गरेको उद्धार, राहत र कोभिड–१९ को महामारीको प्रतिकार्य, रोकथाम तथा नियन्त्रणमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।
सेनाबाट भइरहेको विकासनिर्माण, प्रकृति संरक्षणलगायत कार्यको स्मरण गर्दै उहाँले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्न सेनालाई सुझाव दिए । उपप्रधानमन्त्री पोखरेलले भने, ‘म आफू जुनसुकै ठाउँमा रहे तापनि सेनालाइ सदैव सहयोग गर्नेछु ।’
सो अवसरमा प्रधानसेनापति पूर्णचन्द्र थापाले रक्षामन्त्री पोखरेलबाट करिब तीन वर्षका कार्यकालमा भएको मार्गनिर्देशन र सुधारात्मक कार्यको थालनीप्रति धन्यवाद ज्ञापन गर्दै आभार व्यक्त गरे ।
उनले भने, ‘राष्ट्रिय सुरक्षा नीति २०७५ को कार्यान्वयन कार्ययोजनाको स्वीकृति, प्रतिरक्षा नीतिको मस्यौदा निर्माण, राष्ट्रिय प्रतिरक्षा विद्यालयको स्थापनालगायत महत्वपूर्ण उपलब्धि यो समयमा भएका छन् ।’