काठमाडौं– गृह मन्त्रालयले विभिन्न विद्युतीय माध्यममा संकटकाल र कर्फ्यु लाग्छ भनेर सार्वजनिक भएको सूचना तथ्यहीन रहेको जनाएको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी मोबाइल, सामाजिक सञ्जाललगायत विद्युतीय माध्यममा सुरक्षा संवेदनशील विषयसमेत जोडेर संकटकाल र कर्फ्यु लाग्ने भन्ने सूचना सम्प्रेषण गरेको पाइएकाले गम्भीर ध्यानाकर्षण भएकोसमेत जनाएको छ ।
‘उक्त सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको बेहोरा सम्बन्धित सबैमा सूचित गरिन्छ,’ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यस्ता घटनालाई गम्भीरतापूर्वक लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।