महेन्द्रनगर– चाडपर्वका बेला गन्तव्यमा जाने यात्रुहरूको चाप हुने कञ्चनपुरको गड्डाचौकी नाका र पूर्वी डोकेबजारस्थित त्रिनगर नाका यस वर्ष भने कोरोना महामारीका कारण सुनसान छन् । सुदूरपश्चिमको रोजगारीको प्रमुख गन्तव्य भारतबाट दसैं, तिहार, नयाँ वर्ष (विशु पर्व) र गौरा पर्व मनाउनेहरू घर फर्किने गर्थे । कोरोना भाइरसको त्रासका कारण गत चैतदेखि नै लाखौं नेपाली भारत छाडेर स्वदेश आइसकेकाले पनि चाडपर्वमा सीमानाकाहरू सुनसान भएका हुन् ।
गड्डाचौकी इलाका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब निरीक्षक नरेन्द्र चन्दले भारतबाट यहाँको नाका हुँदै दैनिक दुईदेखि तीनसय नेपाली स्वदेश फर्किरहेको बताए । ‘कोरोनाको डरले नेपालीहरू पहिल्यै हजारौंको सङ्ख्यामा यहाँबाट भित्रिसके,’ उनले भने, ‘यस वर्ष विगतजस्तो चाडपर्वमा आउनेहरूको तँछाडमछाड छैन ।’ भारतबाट आउनेहरूमध्ये पनि २० प्रतिशत मात्रै दसैंलगायत चाडपर्व मनाउन आएको बताउने गरेको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिए ।
अहिले पनि भारतबाट कोरोनाकै डरले नेपालीहरू घर आइरहेका छन् । गड्डाचौकी नाकाबाट दैनिक १०० देखि २०० सम्म नागरिक भारत रोजगारीका लागि गइरहेको प्रहरीको भनाइ छ । विगतमा दसैं शुरू हुनुअघि नै यहाँको नाकाबाट दैनिक १० हजारभन्दा बढी नेपाली स्वदेश फर्किने गरेका थिए । कृष्णपुर नगरपालिकाका अर्जुन जोशीले कोरोनाले भारतमा हुँदा पनि दुखः पाइएकाले दिल्लीबाट घर फर्किनुपरेको बताए ।
‘लामो समयसम्म कम्पनी बन्द भएकाले कोठामै बस्नु प¥यो,’ उनले भने, ‘अहिले त सुरक्षितरूपले घर पुग्नु नै ठूलो कुरो भइसक्यो । कोरोनाका कारण धेरै नेपालीको रोजगारी गुमेकाले स्वदेशमै काम गर्ने योजना बनाएर धेरैजसो घर फर्किरहेका छन् ।’ कोरोनाका कारण यहाँका नाकाहरूबाट सुदूरपश्चिममा मात्रै डेढ लाखभन्दा बढी स्वदेश भित्रिएको सुदूरपश्चिम प्रदेश सरकारको भनाइ छ ।
त्यसैगरी डोकेबजार नाकाबाट गत आइतबार बिहान ३०२ जना भारतबाट स्वदेश फर्किएका थिए भने ४८ नेपाली रोजगारीका लागि भारत गएको डोकेबजार प्रहरी चौकीका प्रहरी नायवनिरीक्षक भुपाल थापाले जानकारी दिए ।
‘विगतजस्तो भारतबाट बिदामा पर्व मनाउन आउनेहरूको संख्या धेरै नै कम छ,’ उनले भने, ‘अस्तिसम्म भारत जानेहरूको सङ्ख्या बढी थियो ।’
डोकेबजार नाकाबाट दैनिक ५०० देखि ८०० नेपाली घर फर्किरहेको प्रहरीको भनाइ छ । ‘आर्थिक अवस्थाले धेरै नेपाली दसैं छाडेर पनि मजदुरीका लागि भारत गइरहेका छन्,’ प्रहरी नायब निरीक्षक थापाले भने । कोरोना सङ्क्रमण बढिरहँदा घर आउनेहरू अघिल्ला महिनाहरूमै आइसके ।’
यहाँबाट भारतको राजधानी दिल्ली, बैंग्लोर, पुना, मुम्बै, पन्जाब , देहरादुन, हरिद्धार, राजस्थान, कुमाउ गड्वाल र सिमलालगायत स्थानमा नेपालीहरू मजदूरीका लागि जाने गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले चाडपर्वमा यात्रुहरूको सहजताका लागि सीमानाका क्षेत्रमासमेत गरेर प्रदेशका ४० स्थानमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको जनाएको छ ।