काठमाडौं - पूर्वमन्त्री डा डम्बरनारायण यादवको ८६ वर्षको उमेरमा आज निधन भएको छ ।
महादेवा गाउँपालिका–३ बथनाहा निवासी पूर्वमन्त्री डा यादवको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका क्रममा निधन भएको उनका भतिजा अजय यादवले जानकारी दिए । काठमाडौँमा बसोबास गर्दै आएका डा यादव एक महिनाअघि बथनाहास्थित घरमा आएर बसेका थिए ।
उनी चार दिनअघि अचानक बेहोस भएपछि उपचारका लागि विराटनगर लगिएको थियो । केही वर्षअघि मुटुको बाइपास सर्जरी गराएका डा यादवको मस्तिष्कघातका कारण निधन भएको भतिजा अजयले बताए । यादव २०३६ साल जेठ १८ गते तत्कालिन प्रधानमन्त्री सूर्यबहादुर थापा नेतृत्वको मन्त्रिमण्डलमा शिक्षा राज्यमन्त्री थिए ।
यसैगरी २०४० साल असार २९ गते लोकेन्द्रबहादुर चन्द नेतृत्वको मन्त्रिमण्डलमा उनी स्वास्थ्यमन्त्री रहेका थिए । प्रजातन्त्र स्थापनापछि नेपाल सद्भावना पार्टीमा सक्रिय भएका यादव मधेशी नागरिक समाजको अध्यक्षको हैसियतामा सामाजिक कार्यमा संलग्न रहेका थिए ।
उनको महादेवा गाउँपालिका–३ बथनाहास्थित पैतृक गाउँमा आज साँझ दाहसंस्कार गरिने यादवको पारिवारिक स्रोतले जनाएको छ । यादवको एक छोरा र एक छोरी छन् । उनको श्रीमतीको एक वर्षअघि निधन भएको थियो ।