रुकुम– लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री आरती पौडेलले भेडा स्रोत केन्द्र बनाउने स्थानको स्थलगत अनुगमन गरेकी छन् । भेडा स्रोत केन्द्रका लागि छनोट गरिएको जिल्लाको पुथाउत्तरगङ्गा गाउँपालिका वडा नम्बर ११ मा रहेको उपल्लो सेराको उनले स्थलगत अनुगमन गरेकी हुन् । अनुगमनपश्चात मन्त्री पौडेलले गाउँपालिका पशुपालनका लागि उपयुक्त ठाउँ भएको बताइन् । पशुपालनलाई निर्वाहमुखी नभर्इ व्यावसायिक बनाउनुपर्नेमा उनको जोड थियो ।
सो अवसरमा स्थानीयवासीले मन्त्री पौडेलसमक्ष विभिन्न माग राखेका छन् । यहाँका स्थानीयले केही वर्ष अघिसम्म पशुपालन व्यवसाय गर्दै आएका थिए । अहिले भने सरकारले संरक्षण नगरेकै कारण पशुपालन व्यवसया धरापमा पर्दै गएको उनीहरुले गुनासो गरेका छन् । पशुवस्तुलाई विभिन्न रोग लाग्दा बेलैमा उपचार र प्राविधिक नपाउँदा पनि आफूहरु समस्यामा परेको उनीहरुले बताएका छन् ।
उनीहरुले गाउँपालिकामै साना उद्योग सञ्चालन तथा कृषि एम्बुलेन्स सञ्चालनको माग गरेका छन् भने कृषकका लागि आएको बजेट र कार्यक्रम सोही शीर्षकमा खर्चिनुपर्नेमा माग गरेका छन् । स्थानीय कृषकले राखेका मागको सम्बोधन गर्दै मन्त्री पौडेलले भेडा पालनलाई उद्योगसँग जोड्ने तयारी प्रदेश सरकारले गरिरहेको बताइन् । पशुपालकसँगै कृषिलाई पनि मुख्य प्राथमिकतामा राखेर काम गरिने विश्वास दिलाउँदै उनले स्थानीयको सल्लाह, सुझावलाई समेटेर काम गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
मन्त्री पौडेलले भनिन्, ‘कृषकका लागि आएको बजेट कृषकमै पुग्छ, यसमा कुनै शङ्का मान्नुपर्दैन, तपाईंहरु ढुक्क हुनुहोस् ।’