काठमाडौं - आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आजदेखि सुरु भएको छ ।
बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । आजदेखि वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
नवरात्रको पहिलो दिन आज बालुवा वा माटो ल्याएर गाईको गोबरले लिपपोत गरिएको पूजाकोठा अथवा दशैँघरमा विधिपूर्पक राखेर त्यसमाथि यव (जौ) रोपिन्छ ।
यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज रोपी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा ग्रहण गरिन्छ । घटस्थापनाको साइत आज बिहान ११: ४६ बजे रहेकोे छ ।