ललितपुरमा कोरोना संक्रमितको सङ्ख्या पाँच हजार बढी नाघेको छ । जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार जिल्लामा हालसम्म कोभिड सङ्क्रमितको सङ्ख्या ५ हजार २६० पुगेको हो ।
त्यसैगरी अहिलेसम्म कोरोना निको भई घर फर्कनेको सङ्ख्या २ हजार ६७२ रहेको छ । यसैगरी जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ५४० र मृतकको सङ्ख्या ४८ पुगेको जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालले बताए ।
ललितपुर महानगरपालिकाका प्रवक्ता एवं नं ९ का वडाध्यक्ष राजु महर्जनलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हप्ता अघिदेखि गाह्रो भई घरमा बसेको र मङ्गलबार थापाथलीको निजी क्लिनिकमा कोरोना परीक्षण गराउँदा सङ्क्रमण पुष्टि भएको उनले बताए । यसैगरी महानगरपालिकाका वडा नं ९ लगायत वडा नं ८, वडा नं १२, वडा नं १६, वडा नं १९ र वडा नं २४ ले अत्यावश्यक सेवा मात्र दिइरहेको महर्जनले जानकारी दिए ।