काठमाडौं– प्रहरी प्रधान कार्यालयले ५ हजार भन्दा धेरै नयाँ प्रहरी भर्ना गर्ने तयारी गरेको छ । प्रहरी प्रधान कार्यालयले प्रहरी जवान पदका लागि विज्ञापन निकालेको छ । खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान अनुसार ५ हजार २ सय २७ जना नयाँ प्रहरी जवान भर्ना लिने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
खुल्लातर्फ २ हजार ८ सय १७ कोटा रहेका छन् । बाँकी कोटा समावेशी तर्फ रहेका छन् । समावेशीमा सबैभन्दा धेरै आदिवासी जनजातिका लागि ७ सय ३७ कोटा तथा महिलाका लागि ४ सय ४१ कोटा छुट्टाइएको छ ।
प्रहरी प्रधान कार्यालयले आजको गोरखापत्र दैनिकमा सुचना प्रकाशन गरेर यहि कार्तिक १६ देखि मंसिर २३ गतेभित्र इच्छुकलाई आवेदन फारम भर्न भनेको छ । इच्छुकहरुले ७७ वटै जिल्लाका प्रहरी कार्यालयबाट दरखास्त दिन सक्नेछन् ।
आवेदन फारम भर्नका लागि आवेदकले ८ कक्षा पास गरेको हुनु पर्ने छ । ५ फिट २ इन्च भएका पुरुषले फारम भर्न सक्ने छन् भने ५ फिट उचाइ र ४२ केजी तौल भएका महिलाले आवेदन फारम भर्न पाउने छन् ।
आवेदकको उमेर १८ वर्ष पुरा भएको तथा २३ वर्ष ननाघेको हुनु पर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।