प्रदेश राजधानीको विषयलाई लिएर बुटवलमा भएको विरोध प्रदर्शनका क्रममा सरकारी स्कुटर जलाउने चार युवकलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयले आज सूचना निकालेर रुपन्देहीको तिलोत्तमा नगरपालिकाको नाममा रहेको लु१प २४७० नम्बरको स्कुटर जलाएको अभियोगमा उनीहरुलाई मुद्दा चलाई कारबाही प्रक्रिया अघि बढाइएको जानकारी गराएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीकाअनुसार बुटवल उमहानगरपालिका–११ बुद्धनगरका २५ वर्षीय भेषराज पोख्रेल, देवीनगर बस्ने ३५ वर्षीय रोशन थापा, तिलोत्तमा नगरपालिका–२ बस्ने २८ वर्षीय सन्दीप पाण्डेय र गुल्मीको मालिका गाउँपालिका–८ घर भई बुटवल बस्ने ३० वर्षीय सुरज क्षेत्रीलाई नियन्त्रणमा लिइएको हो । उनीहरुले गत असोज १६ गते बुटवल–११ देविनगरको होराइजन चोकमा सरकारी स्कुटर जलाएका थिए ।
यसैगरी, प्रहरीको स्कुटर रोकी धम्की दिने दुई जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । देवदह नगरपालिका–४ का वसन्त रेग्मी र सोही ठाउँका वसन्तलाई देवदह–५, खैरेनी कचहरा पुलमाथि ड्युउटीमा जाँदै गरेका प्रहरीको स्कुटर रोकी फुटाइदिउm भन्दै धम्की समेत दिई जबर्जस्ती लाइसेन्स र बिलबुक मागेको अभियोगमा नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाइएको प्रहरी प्रवक्ता खत्रीले बताए ।
उनीहरुलाई सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ ।