लहान– सिरहाको लहानस्थित सगरमाथा चौधरी आँखा अस्पताल यतिबेला आर्थिक सङ्कटमा परेको छ । कोरोना भाइरस सङ्क्रमणका कारण नेपाल–भारतीय सीमा बन्द हुँदा भारतबाट आउने बिरामीको सङ्ख्या ह्वातै घटेपछि यो अस्पताल आर्थिक सङ्कटमा परेको हो ।
सो अस्पतालमा करिब ७५ प्रतिशत भारतीय र २५ प्रतिशत नेपाली नागरिक उपचारका लागि आउने गरेको थियो । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले भारतीय सीमानाका बन्द गरेपछि उपचारका लागि अस्पताल आउने भारतीय बिरामीको सङ्ख्या ह्वातै घटेको अस्पतालका प्रवन्धक अभिषेक रोशनले जानकारी दिए ।
‘पहिला दैनिक एक हजार २०० सम्म बिरामी आउने गरे पनि अहिले घटेर ३ सयमा झरेको छ,ड उनले भने, ‘भारतीय बिरामी आउन छाडेपछि अस्पतालमा आर्थिक समस्या बढ्न थालेको छ ।’ अस्पतालमा बिरामी घटे पनि करिब ६ महिनासम्म अस्पतालको मौज्दात रकमबाट कर्मचारीलाई तलब खुवाए पनि अब भने समस्या भइरहेको उनको भनाइ छ ।
‘अस्पतालको मुख्य आयस्रोत आँखाका बिरामीहरुको उपचार नै हो,’ उनले भने, ‘उपचार सेवाबाट हुने आम्दानीले ३०० भन्दा बढी कर्मचारीलाई तलब खुवाउँदै आएका छौं, तर बिरामी नै घटेपछि अस्पतालको आयस्रोत पनि घटेको छ, फलस्वरुप अस्पताल सञ्चालन गर्न कठिनाई भइरहेको छ ।’
भारतीय सेवाग्राहीबाट उठेको पैसाले जिल्लाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गदै आएको अस्पतालले अब त्यस्तो काममा समस्या हुन सक्ने बताएको छ । अस्पतालको आर्थिक अवस्थामा सुधार ल्याउन र शिविर सञ्चालन गर्न अब बैकिल्पक उपाय अपनाउनुपर्ने देखिएको छ । मुलुकमा जारी बन्दाबन्दीका समयमा पनि नियमित रुपमा उपचार सेवा सञ्चालन गर्दै आएको उक्त अस्पतालले बन्दाबन्दी शुरु भएको गत चैत ११ गतेदेखि अहिलेसम्ममा २७ हजार २१३ बिरामीको उपचार गरेको जनाएको छ । गत वर्षको सोहि अवधिमा अस्पतालले ७५ हजार भन्दा बढी आँखाका बिरामीलाई उपचार गरेको थियो ।
उपचारका लागि आउने बिरामीको सङ्ख्या घटेको र कोरोना सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर अस्पतालले स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सेवा सञ्चालन गरिरहेको जनाएको छ । सो आँखा अस्पतालमा प्रदेश नं २ का आठ वटै जिल्ला र प्रदेश नं १ का उदयपुर, सुनसरी तथा भारतीय बजारबाट बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।
स्थापना भएको विगत ३८ वर्षभित्र अस्पतालले ५९ लाखभन्दा बढी व्यक्तिको आँखाको जाँच तथा १२ लाखभन्दा बढीको शल्यक्रिया सेवा प्रदान गरेको अस्पतालका प्रमुख सञ्जय सिंहले बताए । लहानबाहेक अस्पतालले मुलुकको विभिन्न शहरमा समेत शाखा बिस्तार गरी आँखाका बिरामीको उपचार गर्दै आएको छ ।