हुम्लाको सिमकोट गाउँपालिका वडा– ८ स्याँडाका नागरिकलाई ठेकेदारले बत्ती बाल्ने सपना देखाएको तीन वर्ष बितेको छ । लामो समयदेखि ठेकेदारको चरम लापरवाहीका कारण हालसम्म पनि बत्ती नबलेपछि स्याँडा गाउँका २४७ घरधुरी अन्धकारमा बस्न बाध्य छन् ।
बिजुली बाल्ने बहानामा ठेकेदार तेजबहादुर महतले स्थानीयलाई बिजुलीका खम्बा बोकाएर ज्याला भने हालसम्म नदिएको वडाध्यक्ष चक्र बुढाले बताए । गाउँ नजिकको अर्को गाउँ माजसम्म बिजुलीका ३५ खम्बा पुगेको र ठेकेदार महतले जम्मा ८० हजार निकासा दिई बाँकी नदिएर सम्पर्कमा नआएको जनाइएको छ ।
गाउँमा बत्ती बाल्नका लागि वडा ८ स्याँडा कार्यालयले ८ लाख छुट्टयाएको भए तापनि सदुपयोग नभएर खेर गएको छ । कार्यालयले गाउँबासीलाई निःशुल्क मिटरबक्स दिनका लागि ८ लाख छुट्याए पनि ४ लाख खम्बामा खर्च भएको र ४ लाख उपभोक्ताका खातामा बाँकी छ कि खर्च भयो भन्ने थाहा नभएको वडाध्यक्ष बुढाले बताए ।
२०७४ मा हिल्दुम साना जलविद्युत् आयोजना बिजुली पुर्याउने प्रक्रियामा लागे तापनि तीन वर्ष बितिसक्दा पनि बिजुली नबलेको स्थानीयले गुनासो गरेका छन् । २०७५ मा पूर्वगाविस सचिवको कार्यकालमा स्याँडा गाउँलाई बत्ती बाल्ने भनेर रकम छुट्याइए पनि ठेक्काको जिम्मा लिएका ठेकेदारले काम पूरा गर्न नसकेको स्थानीयले बताएका छन् ।
दुवै क्षेत्रबाट सो रकम उपलब्ध नहुँदा सोही गाउँका ज्याला मजदुरी गर्ने व्यक्तिले सो रकम नपाएको स्थानीय किरण बुढाले गुनासो गरे । स्थानीय बुढाका अनुसार त्यतिबेला सिमकोटको लाक्नाबाट १२ स्थानीयले २० खम्बा बोेकेर गाउँ पु¥याएका थिए । ‘ठेकेदारको चरम लापरवाहीका कारण गाउँमा नत बत्ती बल्न सक्यो, न त काम गरेको ज्याला नै पाइयो,’, किरणले भने ।
बेलाबेलामा ठेकेदारलाई सम्पर्क गर्न खोज्दा ठेकेदारले फोन रिसिभ नगरेको उनको गुनासो छ । अहिले स्याँडा गाउँ बत्ती नबल्दा अन्धकारमय बनेको छ । खम्बा ओसारेका १२ कामदारले करीब ५ लाख बराबर ज्याला पनि पाएका छैनन् । यतिखेर सो ठाउँका लागि राखिएका तार र खम्बा पनि बीचैमा लथालिङ्ग छन् ।
सम्बन्धित ठेकेदारलाई पुनः एक पटक अनुरोध गर्ने तर नमानेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी दिइने किरणले चेतावनी दिए । यस विषयमा कुरा गर्न खोज्दा ठेकेदार महतसँग सम्पर्क हुन सकेन ।