लमजुङको उत्तरी भेग मर्स्याङ्दी गाउँपालिका–६ स्थित ङादीखोलामा चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीद्वारा निर्माणाधीन न्यादी जलविद्युत् आयोजनाको काम धमाधम भइरहेको छ । तीस मेगावाट क्षमता रहेको सो आयोजना आगामी छ महिनाभित्र सक्ने लक्ष्यका साथ कोरोनाको त्रासका बीच कामलाई जारी राखिएको छ ।
आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङका अनुसार हालसम्म ९३ प्रतिशतभन्दा बढी निर्माण सकिएको छ । यतिबेला आयोजनाको विद्युत् गृह र बाँधस्थल निर्माण करिब अन्तिम चरणमा पुगेको छ ।
त्यस्तै, आयोजनाबाट साढे नौ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्नका लागि निर्माण भइरहेको आयोजनाले जनाएको छ । डेनस्टक पाइप लाइनको काम करिब करिब सकिएको छ । इलेक्ट्रोनिक केही काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनामा आवश्यक केही यन्त्र नेपाल–भारतका सिमानामा रोकिएका कारण निर्माणमा केही समस्या आए पनि केही दिनमा त्यहाँ रोकिएका सामग्री आइपुग्ने आयोजनाले जनाएको छ ।
२०७३ चैत महिनादेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत चैतमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपर्थ्यो । विविध कारणले निर्माणमा ढिलाइ भइरहेका बेला लकडाउनले समेत आयोजनालाई प्रभाव बनाएकाले लम्बिन पुगेको छ । सुरुङसहित ७२५ मिटर पेनस्टक पाइप राखिने आयोजनाले जनाएको छ । करिब ६ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेस्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे ४ अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४.८० र सुक्खायामका लागि ८.४० मा विद्युत् खरिद सम्झौता (पिपिए) गरेको छ ।
यसबाहेक जिल्लामा निर्माणाधीन करिब एक दर्जन आयोजनाको निर्माण धमाधम भइरहेको छ । आधा दर्जनभन्दा बढी आयोजनाले निर्माण सम्पन्न गर्दै बिजुलीसमेत उत्पादन गरिसकेका छन् ।