‘यसपटकको दसैं बहार ज्ञानसँगै अनेक उपहार’ भन्ने नाराका साथ किताब यात्रा प्रालिद्वारा सञ्चालित किताब यात्रा डटकमले ‘किताब यात्रा वाउ दसैं अफर’ सार्वजनिक गरेको छ । नेपालमै पहिलोपटक किताबको खरिदमा पाठकलाई लाइब्रेरी र उपहार दिइने यस्तो स्किम सार्वजनिक भएको हो । यो स्किमअन्तर्गत किताब यात्रा डटकमबाट किताब खरिद गर्दा लक्की ड्रमार्फत विभिन्न उपहारहरू प्रदान गरिनेछ ।
उपहारअन्तर्गत एक जनालाई किताब यात्राका तर्फबाट ५० हजार रुपैयाँबराबरको किताबसहितको पुस्तकालय उपहारस्वरूप दिइनेछ भने सिजीका तर्फबाट ३२ इन्चको सेन्सेई टिभी २ जनालाई दिइनेछ । यस्तै दुई जनाले एमआईको साउमी रेड नाइन र नोकियाको स्मार्ट फोन प्राप्त गर्नेछन् ।
लक्की ड्रमार्फत नै पोखराको अल्फान्जो रिसोर्टका तर्फबाट दुई दिनको होलिडे प्याकेजसमेत दुई विजेतालाई प्रदान गरिने किताब यात्रा प्रालिका प्रमुख कार्यकारी अधिकृत विकेश भट्टराईले जानकारी दिए ।
यस्तै, ५० जनालाई किताब यात्राका तर्फबाट गोल्ड प्लेटेड बुकमार्क प्रदान गरिनेछ भने प्रत्येक किताबको खरिदमा लिभिङ विथ आइसिटी म्यागजिनको इ–कपीसमेत निःशुल्क प्रदान गरिनेछ । किताब यात्राको यस स्किममा सहभागीहरूले अन्य धेरै गिफ्ट भौचरसमेत प्राप्त गर्नेछन् । भट्टराईका अनुसार इसेवाबाट भुक्तानी गर्दा ५ प्रतिशत क्यास ब्याक पाइने व्यवस्था गरिएको छ भने हरेक हप्ता इसेवाका तर्फबाट ५ जनालाई ५०० रुपैयाँको ब्यालेन्स उपहारस्वरूप प्रदान गरिनेछ ।
भट्टराईले भने, ‘किताब यात्राको वाउ दसैं अफर सम्भवतः नेपालमा पहिलो अफर हो । सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको पठन संस्कृतिमा थोरै भए पनि योगदान दिने उद्देश्यले यसपटक हामीले एक जनालाई ५० हजार बराबरको लाइब्रेरी उपहार दिँदै छौं ।’
‘हरेक खरिद मूल्यको २ प्रतिशत रकम किताब यात्रा फाउन्डेसनले बनाउने किताब यात्रा लाइब्रेरी एन्ड रिसर्च सेन्टरमा अनुदानका रूपमा सहयोग गर्दै छौं । यस अफरमा ग्राहकको उल्लेखनीय सहभागिता हुने अपेक्षा गरेका छौं,’ भट्टराईले भने ।
उनका अनुसार पछिल्लो समय दसैंमा किताब पढ्नेहरूको संख्या दिनानुदिन बढिरहेका बेला ग्राहकहरूलाई लक्षित गर्दै यस्तो स्किम ल्याइएको हो । किताब यात्रा प्रालिले स्थापना कालदेखि नै किताब प्रेमीहरूको मन जित्न सफल भएको छ । पछिल्लो समय अनलाइनमार्फत किताब खरिदमा ग्राहकको पहिलो रोजाइ बन्न सफल किताब यात्रा प्रालिले किताब जात्रा २०२० समेत आयोजना गरिसकेको छ ।