तनहुँ– आदिकवि भानुभक्त आचार्यको जन्मस्थल तनहुँको भानु नगरपालिका–४ स्थित चुँदी रम्घामा रामायण भवन निर्माण कार्य सम्पन्न भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको पर्यटन विभागको मातहतमा र भानु जन्मस्थल विकास समितिको सक्रियतामा करिब ३ करोडको लागतमा सो भवन निर्माण सम्पन्न भएको हो ।
भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्यस्थलका रुपमा विकास गर्न भवन निर्माण गरिएको भानु नगरपालिकाले जनाएको छ । वि.सं. २०५२ मा सोसमिति गठन गरिएको हो । नेपाल सरकारसँग समिति गठनका लागि पहल गरिए पनि समिति गठन हुन नसकेको भानु नगरपालिका–४ का अध्यक्ष पूर्णबहादुर लौडारी भाटले बताए । यसअघि सो संस्थामा नेपाल सरकारले अध्यक्ष र कार्यकारी निर्देशकका रूपमा विभिन्न क्षेत्रका व्यक्तिलाई मनोनयन गर्दै आएको थियो । अहिले भानु नगरपालिकाले जन्मस्थल विकास समितिले समेत काम हेर्दै आएको बताइएको छ ।
भवन निर्माण पूरा भए पनि रामायणमा भएका श्लोकहरु, रामायणसम्बन्धी तस्बिर कुद्ने काम बाँकी रहेको नगरपालिकाले जनाएको छ । रामायण भवन कलात्मक ढङ्गले निर्माण गरिएको छ । भवनको बार्दली सालको काठ प्रयोग गरी निर्माण गरिएको भानु नगरपालिकाका नगरप्रमुख उदयराज गौलीले बताए ।
‘संरक्षण तथा पर्यटक गाइड पनि व्यवस्थापन गर्न थुप्रै जनशक्ति आवश्यक पर्छ, पालिकाले सिधैँ कर्मचारी भर्ना गर्न मिल्दैन,’ उनले भने । संघीय सरकारको मातहतमा रहेको समिति विघटन भएकाले अहिले समितिविहीन अवस्थामा रहेको छ । रामायण भवन निर्माण गरिए पनि विघटित समितिको पुनःगठन हुन नसक्दा भवनका सामान चोरी हुने, आगलागी हुनेलगायतका जोखिम रहेको भानु जन्मस्थल विकास समितिका निवर्तमान कार्यकारी निर्देशक शङ्कर रानाभाटले बताए ।
राष्ट्रिय विभूतिको सम्मान गर्न पनि सङ्घीय सरकारले जिम्मा लिने गरी समिति गठन हुनुपर्नेमा नगरपालिकाले जोड दिँदै आएको छ । संघले प्रदेशलाई, प्रदेशले नगरपालिकालालाई र नगरपालिकाले वडालाई जिम्मेवारी दिएर खुम्च्याउने काम गर्न नहुने नगरप्रमुख गौलीले बताए ।