काठमाडौं– नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले राष्ट्रिय विज्ञान दिवस तथा विश्व अन्तरिक्ष सप्ताहको अवसरमा सञ्चालन गरेको राष्ट्रिय अन्तरिक्ष चित्रकला तथा अनलाइन वक्तृत्वकला प्रतियोगिताको नतिजा सार्वजनिक गरेको छ । चित्रकलातर्फ किड्स लर्निङ स्कुल, काठमाडौँकी कक्षा ८ मा अध्ययनरत छात्रा सुश्री रीना चौधरी पहिलो, बूढानीलकण्ठ स्कुल, काठमाडौँमा कक्षा ८ मा अध्ययनरत सुश्री नीति पछाईँले दोस्रो तथा न्यु होराइजन सेकेन्डरी स्कुल बेनी म्याग्दीमा कक्षा ६ मा अध्ययनरत प्रदीप रेग्मीले तेस्रो स्थान हसिल गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेले टेलिस्कोप, पदक तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने दोस्रो र तेस्रो हुनेले क्रमशः गिफ्ट ह्याम्पर, पदक तथा प्रमाणपत्र प्राप्त गर्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए ।
वक्तृत्वकलातर्फ केफ सेकेन्डरी स्कुल पोखराका सौगत गौतम पहिलो, ट्रिनिटी इन्टरनेसनल स्कुल काठमाडौँका रोहन भट्टराई दोस्रो तथा लिटल एन्जेल्स स्कुलकी सुश्री रोमिया वैद्यले तेस्रो स्थान हासिल गरेका छन् । ती विद्यार्थीलाई पुरस्कारस्वरुप क्रमशः नगद १० हजार ५ हजार तथा ३ हजारका साथै पदक र प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगितामा सातै प्रदेशका विभिन्न विद्यालयमा अध्ययनरत १५० भन्दा बढी विद्यार्थीले आफ्ना प्रस्तुति तथा चित्रकला सोसाइटीको वेबसाइटमार्फत पठाएका थिए ।