काठमाडौं– सरकारले अनशनरत चिकित्सक प्राडा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ । शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो ।
प्राडा. केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनरत छन् । मंगलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि आज समिति गठन गरिएको हो ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा छन् ।