सर्वोच्च अदालतले तनहुँको भानु नगरपालिकाको कार्यालय हाल कायम रहेको स्थानबाट अन्यत्र तत्काल नसार्न अन्तरिम आदेश दिएको छ ।न्यायाशीश हरिप्रसाद फुँयालको एकल इजलासले तत्कालै नगरपालिकाको कार्यालय अन्त नसार्न अन्तरिम आदेश दिएको हो ।
वडा नं. २ का अध्यक्ष अर्जुनबहादुर केसीले हालेको रिटका आधारमा सर्वोच्चले सो निर्णय गरेको हो । सर्वोच्चको अन्तरिम आदेशमा दुवै पक्षसँग छलफल गरी टुंगो लगाउन असोज २९ मा छलफलका लागि दुवै पक्षलाई झिकाउन भनिएको छ ।
वडा नम्बर २ स्थित फुस्रेटारमा रहेको नगरपालिकाको कार्यालय गत असोज १ गतेबाट वडा नं. १ स्थित भन्सारमा रहेको सहरी विकास आयोजनाको भवनमा सारिएको थियाे । ३ वर्षका लागि भाडामा लिएर भन्सारबाट सेवाप्रवाह सुरु भएको छ ।
यसैबीच, नगरपालिका सार्ने विषयलाई लिएर स्थानीयले विरोध गर्दै आएका छन् । उनीहरुले भूमाफियाको चलखेलमा परेर नगरप्रमुख उदयराज गौलीले कार्यालय सार्ने निर्णय गरेको बताएका छन् ।
फुस्रेटारमा नगरपालिकाको कार्यालय हुँदा सबैलाई पायक पर्ने, सम्पूर्ण भौतिक पूर्वाधार निर्माण भइसकेको, जग्गाको कुनै कमी नभएको, सबै नगरवासीलाई सहज बाटोको व्यवस्था भएकाले नगरपालिकाकाे कार्यालय अन्त सार्न नहुने संघर्ष समितिका अध्यक्ष भक्तबहादुर कुँवरले बताए ।
नगरप्रमुखले तीन दिने तालिम भन्दै बैठक बोलाएर नगरसभाको निर्णय भन्दै नगरपालिकाको कार्यालय सार्न लागेकोप्रति स्थानीयले घोर आपत्ति जनाएका छन् । कार्यालय सार्न गरिएको यो पक्षपातपूर्ण निर्णय कानुनविपरीत रहेको स्थानीयले बताएका छन् । सर्वोच्च अदालतले दिएको आदेश नमानी जनभावना विपरीत काम गर्दै गए आफूहरु आन्दोलनमा उत्रन तयार रहेको स्थानीय भनाइ छ ।