ओखलढुंगा– यौन दुर्व्यवहारको आरोपमा ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–३ का वडाध्यक्ष मेडल राई पक्राउ परेका छन् । स्थानीय एक महिलालाई यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।
मादकपदार्थ सेवन गरेर आफूलाई घरैमा आएर यौन दुर्व्यवहार गरेको भन्दै महिलाले दिएको लिखित उजूरीका आधारमा वडाध्यक्ष राईलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख रुपेश खड्काले बताए । ‘करणीको जाहेरी आएपछि हामीले वडाध्यक्ष राईलाई नियन्त्रणमा लिएका छौं,’ उनले भने, ‘अदालतमा म्याद थप गरेर अनुसन्धान गर्ने तयारी भइरहेको छ ।’ घटना अनुसन्धानमै रहेकाले थप बताउन नमिल्ने प्रहरीको भनाइ छ ।
अध्यक्ष राईले चार दिनअघि मादक पदार्थ सेवन गरेर महिलाकै घरैमा गई यौन दुर्व्यवहार गरेको पीडित महिलाको आरोप छ । घटना स्थानीयस्तरमा मिलाउने प्रयास गरिए पनि पीडित महिला प्रहरीमा पुगेपछि वडाध्यक्ष पक्राउ परेका हुन् ।