काठमाडौं– एक व्यक्तिले अनलाइनको आडमा दुवै पक्षको नक्कली फेसबुक बनाएर आफैँले च्याट गरी त्यसको स्क्रिनसर्ट प्रयोग गरेर मानिसको चरित्र हत्या गर्ने गरेको खुल्न आएको छ ।
कर्णाली आवाज डटकम सञ्चालन गर्दै आएका जुम्लाका २६ वर्षीय पसल रोकायाले कर्णाली एचडी फेसबुक पेज र युट्युब प्रयोग गरी व्यक्तिको चरित्रहत्या गर्ने गरेको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
विभिन्न व्यक्तिले चरित्रहत्या र ठगी गरेको भनी दिएको उजुरीका आधारमा उनलाई आइतबार इलामबाट पक्राउ गरी ल्याएर आजदेखि आवश्यक अनुसन्धान थालिएको परिसरले जनाएको छ ।
उनले विभिन्न ठाउँमा जागिर लगाई दिने बहानामा पैसासमेत ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनले दुवै पक्षको नक्कली फेसबुक एकाउन्ट बनाई च्याट गरी त्यसको स्क्रिनसट प्रयोग गरेर भ्रामक समाचार प्रकाशन गरेको पत्ता लागेको छ ।
उनले खिरिस निर्माण सेवा र संविधान निर्माण सेवा दर्ता गरी ठेक्कापट्टा पनि गर्ने गरेको पाइएको छ । शुभलक्ष्मी अस्पतालको अध्यक्ष बनेको तथा संविधान कलेज पनि हालसालै दर्ता गरेको पाइएको छ । त्यसमा नर्सिङ, हेल्थ असिस्टेन्ट, फार्मेसी लगायतको पढाइ गराउने भनी प्रचार गरेको पाइएको परिसरले सार्वजनिक गरेको सूचनामा उल्लेख छ ।
नर्समा नाम निकालिदिन्छु भनी यौन दुव्र्यवहार तथा ब्ल्याकमेल गर्ने गरेको भन्दै यसअघि उनीविरुद्ध पटकपटक साइबर अपराध तथा ठगी मुद्धा चलेको पत्ता लागेको छ । नर्सिङ काउन्सिलको परीक्षामा उत्तीर्ण गराई दिन्छु भनी एक जनाबाट ७० हजार माग गरेको र पैसा प्राप्त नभएपछि नक्कली फेसबुक बनाएर चरित्रहत्या गरेको विषयमा परिसरमा विद्युतीय अपराध शीर्षकमा उजुरीसमेत परेको छ ।
उनले सामाजिक सञ्जालको दुरुपयोग गरी नर्सिङ काउन्सिलका विभिन्न पदाधिकारी तथा अन्य व्यक्तिको नाम र फोटो प्रयोग गरी उक्त आइडीबाट जागिर लगाइदिन्छु, लोकसेवा परीक्षा पास गराइदिन्छु, नर्सिङ काउन्सिलको परीक्षामा नाम निकालिदिन्छु भनी रकमको मोलतोलसमेत गर्ने गरेको खुल्न आएको छ ।
उनले राष्ट्रिय अनुसन्धानको सहायक अनुसन्धान अधिकृतमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिबाट छ लाखसमेत ठगी गरेको खुल्न आएकाले अनुसन्धान जारी रहेको जनाइएको छ ।
उनले विभिन्न व्यक्तिसँग रकम माग गर्ने र रकम नदिएपछि उक्त व्यक्तिका विषयमा गलत र भ्रमपूर्ण समाचार तयार गरी आफँैले वाचन गरी फोटो जोडेर भ्रामक समाचार प्रकाशन गर्ने गरेका थिए ।