काठमाडौं– पछिल्लो २४ घण्टाको अवधिमा हालसम्मकै उच्च कोराना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा १४ हजार ७ सय ३९ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ७२२ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै कूल सङ्क्रमितको सङ्ख्या ८२ हजार ४५० पुगेको छ । साथै निको हुनेको सङ्ख्या ६० हजार नाघेको जनाइएको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ३ हजार ३०७ जना कोरोनालाई जितेर घर फर्किएको जनाए । योसँगै घर फर्किनेको संख्या ६० हजार ६९६ पुगेको छ । सो अवधिमा काठमाडौं उपत्यकामा १ हजार ६३८ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार काठमाडौँमा १ हजार २८०, ललितपुरमा १६२ र भक्तपुरमा १९६ जनामा सङ्क्रमित थपिएका हुन् । देशभर २१ हजार २३४ जना सक्रिय सङ्क्रमितमध्ये होम आइसोलेसनमा ११ हजार ७६० रहेका छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ४७४ जना रहेका छन् । त्यसैगरी क्वारेन्टिनमा ४ हजार ८८५ जना छन् ।
थप ११ को निधन
पछिल्लो २४ घण्टामा कोरोनाबाट निधन हुनेको सङ्ख्या ११ जना पुगेको छ । योसँगै सङ्क्रमणबाट निधन हुनेको सङ्ख्या ५२० जना पुगेको छ ।