बुटवल– प्रदेश ५ को स्थायी राजधानी र नामकरणको टुङ्गो लगाउन सरकारले आजदेखि प्रक्रिया अघि बढाएको छ । प्रदेश ५ को प्रदेशसभाको आजको बैठकमा सरकारले प्रदेशको स्थायी राजधानी र नामकरण सम्बन्धमा औपचारिक प्रस्ताव पेस गरेपछि प्रक्रिया अघि बढेको हो ।
प्रदेशसभाको आज अपराह्न बसेको बैठकमा सरकारका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले प्रदेशको नाम लुम्बिनी प्रदेश नामकरण गरियोस् भन्ने प्रस्ताव सदनसमक्ष प्रस्तुत गरिएको जानकारी गराए ।
प्रदेशसभामा पेस गरिएको प्रस्तावमाथि यही असोज १९ गतेदेखि छलफल शुरु हुने सभामुख पूर्णबहादुर घर्तीले जनाए । प्रदेशसभाको आगामी बैठक यही असोज १९ गते मध्याह्न १२ बजे बस्नेछ । प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित गरेपछि प्रदेशको स्थायी राजधानी र नामको अन्तिम टुङ्गो लाग्नेछ ।