काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आफैँं मिटर रिडिङ गरी अग्रिम रुपमा महसुल भुक्तानी गरेको खण्डमा २५ प्रतिशतसम्म छुट दिने भएको छ ।
प्राधिकरणले आज एक सार्वजनिक सूचनामार्फत जरिवानाबाट बच्न तथा समय समेत बचाउन उक्त व्यवस्था गरिएको जनाएको छ । केही दिन पहिले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले ग्राहकलाई जरिमाना नलिन निर्देशन दिएका थिए । सोही निर्देशनअनुसार नै प्राधिकरणले सूचनामार्फत अग्रिम भुक्तानी गर्न र २५ प्रतिशतसम्म छुट लिन आग्रह गरेको हो ।
प्राधिकरणले जारी गरेको सूचनाअनुसार मिटर रिडर मिटर पढ्न नआएमा वा विल प्राप्त नभएमा ग्राहकले सम्बन्धित कार्यालयमा सम्पर्क गरी बिल लिनु ग्राहकको कर्तव्य भएको जनाएको छ । नियमानुसार ग्राहकले मिटर रिडिङ हुने दिन समेत गरी ७ दिनभित्र बिल भुक्तानी गर्दा बिल रकममा २५ छुट पाइँदै आएको स्मरण गराइएको छ ।
प्राधिकरणले सूचनामा भनिएको छ, ‘विगतका महिनाको औसत बिल अनुमान गरी कति महिनासम्मको बिल भुक्तानी गर्न सकिन्छ सो बराबरको रकम अनुमान गरी अग्रिम वुझाएमा पछि विद्युत् महसुलअनुसारको बिल हिसाब मिलान गर्दा २५ छुट पाइनेछ ।’ –रासस