कोरोना भाइरस महामारी न्यूनीकरणका लागि आह्वान गरिएको बन्दाबन्दीपछि बन्द रहेको पोखरा–नयाँदिल्ली बस सेवा यही असोज १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ । पोखराबाट भारतको राजधानी नयाँ दिल्लीसम्म सिधा बस सेवा सञ्चालन गर्दै आएको मोडर्न इरा टुर्स एन्ड ट्राभल्स प्रालिले सात महिनापछि पुनः सेवा शुरु गर्न लागिएको जनाएको छ ।
पोखरादेखि नेपाल भारतसीमासम्म सो प्रालिअन्तर्गतको बसले यात्रुलाई पुर्याउने, त्यहाँबाट दिल्ली नेपाल–भारत मैत्री सेवाअन्तर्गत उत्तर प्रदेश परिवहन निगमका बसले यात्रुलाई गन्तव्सम्म पुर्याउने र दिल्लीबाट समेत सोहीअनुसार सेवा सञ्चालनको व्यवस्था मिलाइएको प्रालिका अध्यक्ष केशवप्रसाद अधिकारीले बताए ।
अधिकारीले भने, ‘नेपाल सरकारले बोर्डर नखोल्दासम्म हाललाई सीमा नाका वारिपारि गाडी रोक्छौँ, पहिल्यै पूरै भाडा लिएर यात्रुलाई गन्तव्यमा पुर्याउने समझदारी परिवहन निगमसँग गरेका छौँ, बोर्डर खुलेपछि सिधासिधा सञ्चालन गर्छौं ।’
दसैं–तिहारलगायत चाडपर्व नजिकिरहेको र पेसा व्यवसाय तथा रोजगारीका क्रममा भारतमा रहेका नेपालीलाई स्वदेश फर्किन असहज नहोस् भनेर सेवा सुरु गरिएको बताइन्छ । विगतमा पोखरा–दिल्लीको भाडा ४ हजार रहेकामा हाललाई ५०० वृद्धि गरिएको र सरकारले लागू गरेका स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरी सेवा सञ्चालन गरिने प्रालिले जनाएको छ ।
मोडर्न इराले १४ वर्षअघिदेखि पोखरा–दिल्ली बस सेवा सञ्चालन गर्दै आएको छ । त्यसैगरी नेपाल र भारत सरकारबीच दुईदेशीय यातायात सञ्चालनको सहमतिअनुसार २०७३ असारदेखि मैत्री बस सेवा सञ्चालन भएको थियो ।