काठमाडौं– सोनिका मानन्धरले नेसनल जियोग्राफिक सोसाइटी २०२० क्लास अफ इमर्जिङ एक्सप्लोरर अवार्ड जितेकी छन् । नेसनल जियोग्राफिकले उनीसँगै इमर्जिङ एक्सप्लोररमा दिभा अमोन, जोय बोलामिनी, आदम कासिङ्गा, एनरिक लोमनिट, तमरा मेरिनो, एन्थोनी ओबायोमी र अलि प्रेसललाई छानेको छ ।
नेसनल जियोग्राफिकले सार्वजनिक गरेको सन् २०२० को ग्लोबल एक्सप्लोररका आठ जनाको सूचीमा उनको नाम पनि समावेश छ । सोनिका एलोई टेक्नोलोजिजकी सहसंस्थापक तथा प्रमुख प्राविधिक अधिकृत (सीटीओ) हुन् । एलोईले वित्तीय प्रविधिसम्बन्धी एउटा प्लेटफर्म बनाएको छ । जसले ग्रिन माइक्रो इन्टररप्रेनरका लागि वित्तीय परियोजनाका रूपमा डिजिटल टोकन सिस्टम प्रयोगमा ल्याएको छ ।
सोनिका गत वर्ष संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमअन्तर्गतको योङ च्याम्पियन्स अफ द अर्थ बन्न सफल भएकी थिइन् । इमर्जिङ एक्सप्लोररमा छानिएकी मानन्धरले नेसनल जियोग्राफिकका तर्फबाट १० हजार डलर प्राप्त गर्नेछिन् । सन् २००४ देखि सुरु भएको एक्सप्लोरर कार्यक्रम केही वर्ष बन्द भएको थियो । केही वर्ष बन्द रहेको कार्यक्रम यसै वर्षबाट पुनः सञ्चालन गरिएको हो । नेसनल जियोग्राफिक सोसाइटीले विश्वका रोमाञ्चकता तथा आश्चर्यलाई संरक्षण र उजागर गर्ने उद्देश्य लिएको छ ।