काठमाडौं– बाँदरले बस्ती पसेर घरकै अन्नपात नोक्सान गर्न थालेपछि महोत्तरीको एउटा सामुदायिक वन उपभोक्ता समितिले वन क्षेत्रमै सघन फलफूल रोपण शुरु गरेको छ । जिल्लाको बर्दिवास नगरपालिका–१ को चिहानडाँडा सामुदायिक वन उपभोक्ता समितिले बाँदरलाई वनमै रमाउने बनाउन आफ्नो वन क्षेत्रमा सघन फलफूल रोपण शुरु गरेको हो ।
यस अभियानअन्तर्गत यसपालि बर्खामा एक हजार ५०० फलपूmलका बिरुवा रोपिएको समितिका अध्यक्ष घनश्याम न्यौपानेले जानकारी दिए । ‘वनमा खानेकुरा नभएपछि बाँदर बस्ती पस्ने हुन्’, अध्यक्ष न्यौपानेले भने, ‘हामीले बाँदरका मन पर्ने फल वनमा भेटिउन् भनेर यस पालिदेखि सघन फलफूल रोपण शुरु गरेका हौँ ।’ यस क्रममा यसपालि गएको बर्खामा अम्बा, अमला, जामुन, फडिर र महुवा गरी एक हजार ५०० बिरुवा रोपिएको न्यौपानेको भनाइ छ ।
अबको दुई वर्षपछि वनमै फल लटरम्म फल्न थालेपछि बाँदर, अन्य शाकाहारी वन्यजन्तु र चराचुरुङ्गी वनमै रमाउने समितिको ठम्याइ छ । नयाँ फलफूल र अन्य वनस्पति रोपिएसँगै वन क्षेत्र घना हुँदै जाने र वन्यजन्तु त्यहीँ रमाउने अध्यक्ष न्यौपाने बताए ।
बर्दिवास–१ को अति व्यस्त बर्दिवास चोकबाट ५०० मिटर मात्र उत्तरमा पर्ने यो वन क्षेत्र ४४ हेक्टरमा फैलिएको छ । यसपालि बर्खामा लगाइएका फलका बिरुवा र गल्छी पहिरो रोकथामका लागि रोपिएका ७५० झ्याङ बाँस सबै सरेर हलक्क बढेको न्यौपाने बताउनुहुन्छ । वन क्षेत्र हराभरा भएपछि मुख्य चोकको सौन्दर्य अझ बढेको बर्दिवासवासी बताउँछन् ।
समितिले वन सुरक्षाका लागि एक जना वन हेरालु नै नियुक्त गरेको छ । जिल्लाका अन्य भेगका वन क्षेत्र जताततै अतिक्रमणको चपेटामा परे पनि आफ्नो वन भने सुरक्षित रहेको न्यौपानेको जिकिर छ ।