काठमाडौं - बैतडी जिल्लाको पुर्चौडीका विद्यालयहरु पुनः बन्द भएका छन् ।
लामो समयदेखि बन्द रहेका विद्यालय असोज ७ गतेदेखि सञ्चालनमा आएका थिए । असोज ७ देखि सञ्चालनमा आएका विद्यालय आजदेखि पुनः बन्द भएका नगरपालिकाका शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए ।
उनले भने, “नगरपालिकाले अनिश्चितकालका लागि नगरक्षेत्र सिल गर्ने निर्णय गरेसँगै विद्यालय पनि बन्द भएका छन्, आइतबार विद्यालय सञ्चालनमा आएका भए पनि पछि नगरपालिकाले सूचना निकालेपछि बीचमै बन्द गरेका छौँ ।”
पुर्चौडी–३ का २९ वर्षीय युवकको कोरोना सङ्क्रमणका कारण मृत्यु हुनुका साथै अन्य आठ नयाँ सङ्क्रमित थपिएपछि नगरक्षेत्र सिल गरिएको हो । विद्यालय पुनः बन्द हुँदा विद्यार्थीलाई समस्या भएको शिक्षा शाखा प्रमुख नागरीको भनाइ छ ।
शिक्षण सिकाइ सहजीकरण निर्देशिका, २०७७ अनुसार विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा आएका विद्यालय पुनः बन्द गर्नुपर्दा पठनपाठनमा समस्या देखिएको उनले बताए ।
उनले भने, “यसअघि नगरपालिका कोरोना सङ्क्रमित मुक्त भएकाले विद्यालय सञ्चालनमा ल्याएका थियौँ, अब नगरपालिकाले अर्को निर्णय नगर्दासम्म विद्यालय बन्द रहन्छन् ।” पुर्चौडीमा ७५ सामुदायिक विद्यालयमध्ये ३९ ओटामा क्वारेन्टाइन कक्ष र आइसोलेसन कक्ष राखिएका थियो ।
नगरका ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करिब १४ हजार विद्यार्थी अध्ययनरत छन् । बैतडी जिल्लाभरि हालसम्म ४०३ जनामा कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भएको छ ।
रासस