काठमाडौं– महेन्द्रनगरका यातायात व्यवसायी प्रकाश पन्त लकडाउनका समयमा बस सेवा ठप्प हुँदा गुजारा चलाउन नै समस्या आएको गुनासो गरे । सरकारले पछिल्लो समय बन्दाबन्दीमा खुकुलो गरेर सार्वजनिक यातायात सञ्चालन गर्न अनुमति दिए पनि आफूहरु निराशा नसकिएको उनले बताए । बस चले पनि यात्रु बसमा नचढेकाले व्यवसायीको निराशा नहटेको हो ।
उनले भनेका छन्, ‘बस त चले तर यात्रुहरु चढ्न अप्ठ्यारो मान्दछन् । निर्वाध रुपमा यात्रा गर्ने वातावरण मिलेको छैन् ।’ सिट क्षमताको ५० प्रतिशत मात्रै यात्रु हालेर सेवा दिँदा गाडीको किस्ता तिर्न नसकेको उनले बताए ।
भाडामा डेढ गुना वृृद्धि गरेर यातायात सञ्चालन गर्न भने पनि आफूहरु मारमै रहेको र बैंकको किस्ता तिर्न समस्या परेको उनको दुखेसो छ । यस्तै अवस्था रहे व्यवयासीले पलायन हुनुपर्ने अवस्था रहेको उनको भनाई छ । कोरोना कहरमा यातायात व्यवसायी नराम्ररी प्रभावित भएका छन् । यहाँबाट चल्ने लामो मात्रै नभई छोटो दूरीका सवारीधनी पनि यात्रु नआउँदा मारमा परेका छन् । छ महिना लामो लकडाउन खुलेपनि सवारी साधनमा चढ्ने मानिसको चहलपहल नहुँदा लगानी डुब्ने चिन्ता छ । यात्रु नै नपाएपछि गाढी चलाएर पनि केही सहज नहुने व्यवसायी करनसिंह साउदले दुखेसो गरे ।
यातायात क्षेत्र सञ्चालनमा आएपछि खुशी भएका बसका चालक र सहचालक पनि यात्रु नपाउँदा भने निराश छन् । यस्तै लामो समय बन्द रहेको यातायात क्षेत्र सञ्चालनमा आएपछि अन्य क्षेत्र पनि सञ्चालनमा ल्याउनुपर्ने यातायात उनीहरुको माग छ ।